मुटु शरीरको एक महत्वपूर्ण अङ्ग हो, जुन नियमित रुपमा खुम्चने र फुक्ने गर्दछ । यसलाई हामी मुटुको धड्कन भन्दछौं । शरीरमा रक्तसंचारका लागि मुटुले पम्पको काम गर्छ । मुटु खुम्चदा शरीरका विभिन्न अङ्गमा सफा रक्तसंचार हुन्छ भने मुटु फुक्दा शरीरका विभिन्न अङ्गहरुबाट प्रदूषित रगत मुटुमा जम्मा हुन आउँछ । यो खुम्चने र फुक्ने प्रक्रियालाई क्रमशः सिस्टोल र डास्टोल भनिन्छ । रक्तनलीमा रक्तसञ्चार हुँदा उत्पन्न हुने चापलाई रक्तचाप अर्थात् ब्लड प्रेसर भनिन्छ । सिस्टोलमा रक्तचाप बढी र डायस्टोलमा कम हुन्छ । स्वस्थ मानिसमा स्टिोलिक रक्तचाप ९० मि.मि. देखि १४० मि.मि.सम्म र डायस्टोलिक रक्तचाप ६० मि.मि. देखि ९० मि.मि.सम्म हुन्छ । विश्व स्वास्थ्य संघको परिभाषा अनुसार स्टिोलिक रक्तचाप १४० मि.मि. वा बढी भएमा र डायस्टोलिक रक्तचाप ९० मि.मि. वा बढी भएमा यस्ता व्यक्तिलाई उच्च रक्तचाप भएको मानिन्छ ।
उच्च रक्तचापलाई सुषुप्त हत्यारा अर्थात् साइलेन्ट किलर भनिन्छ । किनकि यस रोगले थाहै नदिईकन वा कुनैपनि लक्षण नदेखाईकन मृत्युको मुखमा पुर्याउने भएकाले यसलाई सुषुप्त हत्यारा भनिएको हो । उच्च रक्तचाप भएकामध्ये ६० प्रतिशतलाई आफूलाई उच्च रक्तचापले पीडित भएको पनि थाहा छैन । अर्कोतिर उच्च रक्तचाप भएकामध्ये ९३ प्रतिशत मानिसको रक्तचाप नियन्त्रणमा छैन । उच्च रक्तचाप मुत्युको प्रमुख कारणमध्ये एक बन्दै गएको छ । धेरै अवस्थामा यो रोग आधुनिक सभ्यता, मानसिक तनाव र जीवनशैलीमा आएको परिवर्तनको नजिता हो । उच्च रक्तचाप खतरनाक रोग हो । नेपालमा दिन प्रतिदिन यो रोग बढ्दै गैरहेको छ । उच्च रक्तचापले हृदयघात, स्ट्रोक, मुटु र मिर्गौलाले काम नगर्ने, आँखा ड्यामेज हुने भएकाले यसको समयमै उपचार गर्नुपर्छ । समयमै उच्च रक्तचाप पत्ता लगाएर नियन्त्रणमा लिन सकेमा धेरै हदसम्म यसबाट हुने क्षतिबाट बँच्न सकिन्छ ।
उच्च रक्तचापका रोगीमध्ये ९० देखि ९५ प्रतिशत रोगीमा उच्च रक्तचापको कारण यो नै हो भनेर ठम्याउन सकिँदैन । उच्च रक्तचापको कारणहरुमा : मिर्गौलाका रोगहरु, रक्तनली साँगुरिने रोगहरु, धूमपान तथा सूर्ती सेवन, रक्सी सेवन, व्यायामको कमी, मोटोपना, भुँडी बढ्नु, चिल्लो, नुनीलो, बढी क्यालोरी भएको खाना खानु हो ।
उच्च रक्तचापको लक्षण ९० प्रतिशतभन्दा बढि रोगीमा नदेखिन सक्छ । कसै-कसैमा टाउको दुख्ने, चक्कर लाग्ने, छाती दुख्ने, दम फुल्ने, नाकबाट रगत आउने, रक्तश्राव भैइ आंखा रातो हुने समस्या देखिन सक्छ । त्यसैले ३० वर्ष उमेर काटिसकेका स्वस्थ व्यक्तिले कम्तिमा वर्षको १ पल्ट रक्तचाप नाप्नु आवश्यक हुन्छ भने उच्च रक्तचापका रोगीले कम्तिमा ३–३ महिनामा रक्तचाप जचाउनु पर्दछ ।
उच्च रक्तचापको उपचार निकै कठिन छ । तैपनि विज्ञानको विकासको कारणसंगै उच्च रक्तचाप नियन्त्रण गर्ने थुप्रै औषधि बजारमा उपलब्ध छन् । तर बिरामीहरु एकै पल्ट उच्च रक्तचाप नियन्त्रण गर्ने औषधि शुरु गरीहाल्न मन पराउँदैनन् । कतिपय बिरामीले औषधि नै खाँदैनन् भने कतिपयले शुरु गरे पनि रक्तचाप नियन्त्रण भएपछि औषधि छाडिदिन्छन् । यस प्रकार औषधि छाड्नु हुँदैन भन्ने ज्ञान बिरामीमा छैन । उच्च रक्तचापको उपचारमा ठूलो कठिनाई भनेको यस्तै बिरामीमा उच्च रक्तचापको उपचारप्रतिको अज्ञानता र गलत सोचाइ हटाउनु नै हो । उच्च रक्तचापको औषधि शुरु गरेपछि जिन्दगीभर खाइरहनु पर्छ, यसले शरीरमा साइड इफेक्ट गर्छ, नराम्रो बानी लाग्छ आदि सोचाई राखेर औषधि सेवन गर्न नमान्ने र सेवन गरेपनि बीचमै उपचार रोक्ने जस्तो सोचले आम नेपालीमा जरा गाडेको छ । यो जरालाई उखेलेर फाल्नु र रोगीहरुमा उपचारप्रति विश्वास जागृत गराउनु आजको ठुलो आवश्यकता हो ।
जीवनशैली परिवर्तन गर्नु नै उच्च रक्तचाप नियन्त्रण गर्ने प्रमुख उपाय हो । निश्चित दिनचर्या अनुसार काम गर्ने, बढी कार्यबोझ नलिने, विवादास्पद काममा हात नहाल्ने, बढि महत्वाकांक्षी नबन्ने, काममा फलको आशा बढी नगर्ने, असफलतालाई सजिलैसँग स्वीकारी हतोत्साहित नहुने बानी बसाल्ने गर्नुपर्छ । उच्च रक्तचाप र नुनको प्रत्यक्ष सम्बन्ध छ । त्यसैले खाना पकाउँदा अत्यन्त कम मात्रामा नुन राख्ने, खाना खाँदा अतिरिक्त नुन उपभोग नगर्ने, राखेको अचार र पापड नखाने, नुनिलो बदाम, आलु चिप्स, नम्किन विस्कुट नखाने, चिज, बटर जस्ता नुन बढी हुने बस्तु नखाने, स्वादका लागि नुनको सट्टा कागती, मरिच, तोरीको पिना आदि प्रयोग गर्ने गर्नुपर्छ । व्यायामले रक्तचाप घटाउन मद्दत पुर्याउँछ । हिँड्ने, विस्तारै कुद्ने, पौडी खेल्ने, साइकल चलाउने जस्ता व्यायामले रक्तचाप नियन्त्रणमा सकारात्मक भूमिका खेल्छन् । त्यसैले यस्ता व्यायाम नियमित गर्ने बानी बसाल्नु पर्छ । साथै धूमपान र सूर्ती सेवन नगर्ने, रक्सी सेवन कम गर्ने वा छाड्ने, फाइवरयुक्त भोजन गर्ने, फलफूल र सागसब्जी बढी खाने, खाना कम खाने, तौल नियन्त्रणमा राख्ने, कार्बोहाइड्रेटयुक्त खाना कम खाने गर्नुपर्दछ ।
त्यसैले उच्च रक्तचाप एक सुषुप्त हत्यारा अर्थात् साइलेन्ट किलर रोग भएको हुनाले यसको समयमै उपचार गर्नुपर्छ । उच्च रक्तचाप मानसिक तनावग्रस्त आधुनिक जीवनशैलीको परिणाम पनि भएको हुनाले मानसिक तनावबाट पनि जोगिनु आवश्यक छ । सथै खाना पकाउँदा अत्यन्त कम मात्रामा नुन राख्ने, नियमित व्यायाम गर्ने, धूमपान र सूर्ती सेवन नगर्ने र फलफूल र सागसब्जी बढी खाने गर्नुपर्दछ । सचेतना जगाउने र गाँउ तहसम्म औषधि पुर्याउन सके उच्च रक्तचापका कारणले हुने मृत्यु र जटिल असर कम गर्न सकिन्छ । त्यसैले यो रोगबारे नीतिगत रुपमै व्यवस्था हुनुपर्ने अवस्था आइसकेकाले सरकारले यसलाई समयमै ध्यान पु¥याउनु पर्छ । साथै व्यक्ति आफै पनि आफ्नो रक्तचाप नियन्त्रन गर्न तर्फ लाग्नु नै आजको ठुलो आवश्यक्ता हो ।
[ नोट : यो लेख २०७० भाद्र १८ गते मंगलबारको 'मुक्तिक्षेत्र दैनिक' मा प्रकाशित भएको छ,
लेखक : तेजिन्द्र राना मगर, म्याग्दी ]
लेखक : तेजिन्द्र राना मगर, म्याग्दी ]
Post a Comment